‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 28, 2020

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी अन्योलमा परेका छन् ।  ‘नेपाल जाँदै छु, आफन्त साथीभाइ भेट्दै छु भनेर उत्साहित थिएँ, कम्पनीमा पनि सबै हिसाब–किताब भइसकेको छ,’ उनले भने, ‘परदेशले थलिएको ज्यानमा सास आउँछ भन्नेथ्यो । एकाएक सरकारले आउन नदिने निर्णय गर्‍यो भन्ने सुनें । अब के–कस्तो हुने हो ?’

बिहान साढे ५ बजे उठ्ने, खाजा खाने र ६ बजेदेखि बेलुकी ८ बजेसम्म ड्युटीमा खटिने । तीन वर्षदेखि एकैखालको दैनिकीले विरक्तिएका उनलाई घर फर्किने कुराले ऊर्जा दिएको थियो तर अब कति दिन यत्तिकै बस्नुपर्ने हो भन्ने चिन्ताले सताएको छ । ‘हुन त राम्रैका लागि गरेको होला तर हामी आफ्नै घर फर्कन नपाउने भयौं,’ उनले भने । नेपाली दूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत रामसिंह थापाले सरकारबाट कुनै औपचारिक जानकारी नपाएको बताए । ‘केही समय बस्ने, समय अनुकूल भएपछि नेपाल जाने,’ उनले भने, ‘हामीलाई पनि कुनै औपचारिक जानकारी सरकारबाट आएको छैन । केही दिनमा के कसो गर्ने भन्ने निर्देशन आउला ।’ ईपीएसबाट छानिएर आएका केही व्यक्तिको भिसा सकिएको जानकारी आएको उनले बताए । ‘भिसा सकिएको भनेर यहाँको परराष्ट्र मन्त्रालयले सूचना निकालेको रहेछ,’ उनले भने, ‘घर जाने टिकट लिएर नजिकको अध्यागमन विभागमा जाँदा एक महिनाको भिसा दिन्छ ।’

यस्तो भिसा लिनेले काम गर्न पाउने/नपाउने केही भनिएको छैन । मार्च २४ मा भिसा सकिन लागेका ज्ञान बस्नेतले अघिल्लै दिन फर्कनका लागि टिकट काटेका थिए । कम्पनीबाट बिदा लिएर इन्छन एयरपोर्टनजिकै साथी काम गर्ने कम्पनीमा आएका थिए । ‘अलि अलि सपिङ गर्नु थियो, त्यसैले मार्च १५ सम्म काम गरेर १७ तारिखमा साथीकोमा आएको हुँ । यता बजार पनि राम्रो, एयरपोर्ट पनि नजिक । केही समस्या नहुने । साथी एक्लै पनि थियो ।’ सपिङ सकेर सामान राम्ररी प्याकिङ पनि नगर्दै नेपाल फर्कन रोक लगाइएको समाचार सुने । ‘कस्तो अन्योल भने भिसाको अवधि सकिँदै छ, कम्पनीबाट निस्किसकिएको छ तर नेपाल जान नपाइने भो । के गर्ने, कसलाई सोध्ने ?’उनले भने । सरकारले दक्षिण कोरियाबाट नेपाल जान प्रतिबन्ध लगाएको एक महिनाको अवधिमा १ सय ५० भन्दा बढी रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका नेपालीको भिसा सकिने छाङ्वन विदेशी कामदार सहयोग केन्द्रकी स्नेहा लामाको भनाइ छ । ‘यो एक महिनामा दुई समूहको भिसा सकिने रहेछ । एक समूहमा ७०/८० जना हुन्छन् । नेपालबाट कोरिया आउँदा एक समूहमा कति मान्छे आए, ती सबैको एकैचोटि भिसा सकिन्छ ।’

यसरी भिसा सकिनेलाई कम्पनीमा बस्न दिइएन भने सेल्टरहरूमा राख्ने योजना गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाले गरेको छ । ‘कोरियाका विभिन्न क्षेत्रमा रहेका हाम्रा साथीभाइले सम्भव भएसम्म सेल्टर खोजेर राख्ने व्यवस्था गर्नेछौं । सेल्टर भेटिएन भने नेपाली धेरै काम गर्ने क्षेत्रमा अस्थायी बसोबासको व्यवस्था गर्नेबारे छलफल भइरहेको छ,’ संघका अध्यक्ष यज्ञराज सुवेदीले भने । दक्षिण कोरियामा क्रियाशील संघसंस्थाले कम्पनी छोडेर नयाँ कम्पनी नपाउँदासम्म बस्नका लागि सेल्टर सञ्चालन गरिरहेका छन् । घर बिदामा जाने योजना भएका नेपाली पनि धेरै छन् । संगीता श्रेष्ठले मार्च २३ मा घर जानका लागि जनवरीमै टिकट लिएकी थिइन् । ‘कम्पनीले बल्ल–बल्ल मानेको थियो । कस्तो समयमा बिदा मागिएछ । कति गरेर बिदा पाएकी हुँ । अब बिदा पाइँदैन ।’ सरकारले प्लेन टिकट काटेकाको सबै रकम फिर्ता हुने बताए । अहिलेसम्म एयरलाइन्सहरूले कसरी पैसा फिर्ता गर्ने भन्ने जानकारी नगराएको निट ट्राभल्स सोलका ध्यान राईले भने । ‘हामीलाई कुनै पनि एयरलाइन्सले पैसा फिर्ता कसरी गर्ने भन्ने जानकारी गराएको छैन । पैसा त सबै देला । ट्राभल्स एजेन्सीहरूले केही चार्ज काट्ला कि ?’

कोरियाको व्यस्त दैनिकीलाई बिर्सेर परिवारसँग समय बिताउने धोको केही समयका लागि पछि धकिलिएको त छ नै, यहाँका नेपालीलाई यस्तो अवस्थामा सहयोग र उचित सल्लाह दिने कुनै संघसंस्था नहुँदा दोधारमा छन् ।

-Fonij Korea

The post ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’ appeared first on .



from https://ift.tt/2wNmRJs

No comments:

Post a Comment

Pages