दुई वा दुई व्यक्तिहरुको ‘मिल्ती’ हुने वित्तिकै संगठन निर्माण गर्ने पछिल्लो संस्कार बनेको छ । यसरी गठन हुने संगठन कतिपय सामाजिक सेवाको भावले ओतप्रोत भएर स्थापना भएका हुन्छन् भने कतिपय राजनीतिक रंग र गन्ध मिश्रित पनि । सामाजिक संस्थाहरु विशेषता संघ–संस्था दर्ता ऐन २०३४ बमोजिम गठन भई सञ्चालनमा रहने गरेका हुन्छन् । पछिल्लो समय मुलुक भित्र र प्रवासमा समेत संगठित संस्थाहरु स्थापनाको लहड नै चलेको छ । यो सबै ‘स्वतन्त्रता’ र ‘लोकतन्त्र’को उपलब्धि र उपज हो । लोकतन्त्रमा सबैलाई वाक र वैयत्तित् स्वतन्त्रता हुन्छन् । विशेष गरी संगठित हुने, सभा, सम्मेलन गर्न पाउने, वाक स्वतन्त्रताको हक समेत प्राप्त गरेका छन् । लोकतन्त्र स्थापनासँगै सामाजिक संस्थाहरु स्थापना हुने क्रम ह्वातै बढेको देखिन्छ । गैरनाफामुलक तर सामाजिक प्रतिष्ठा आर्जन गर्ने हेतुले स्थापना भएका यतिधेरै संस्थाहरु माझ यतिबेला सामाजिक उत्तरदायित्व पूरा गर्न सकेको छ की छैन भन्ने प्रश्न खडा देखिन्छ । मुलतः राजनैतिक अधिकार प्राप्त गर्ने थलोको रुपमा स्थापित नेपाल शेर्पा संघ, सांस्कृतिक र व्यवहारहरुलाई स्थापित गर्दै जोगाई राख्न स्थापना भएका हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, सञ्चार जगतमा समुदायलाई एकिकृत गर्दै समावेशी सञ्चार नीतिका साथ अघि बढ्न स्थापना भएका शेर्पा सञ्चार समूह र सञ्चार कर्ममा क्रियाशिल शेर्पाहरुलाई एकताबद्ध गराउँदै क्षमता अभिवृद्धि, सचेतना र समुदायको श्रीबृद्धिका लागि गठित शेर्पा पत्रकार संघ लगायत संस्थाहरु शेर्पा समुदायमा रहेका छन् । त्यस्तै, विभिन्न नाम र लक्षित क्षेत्र बनाई स्थापना भएका तर उद्देश्य मेल खाने अन्य धेरै संस्थाहरुपनि हाम्रो समुदायमा छन् ।
संगठित भएर समाज रुपान्तरण र समुदायका श्रीबृद्धिका लागि क्रियाशिल हुनु सकारात्मक पक्ष हो । पछिल्लो समयमा ग्रामिण भेगको कुनाकप्चामा सामाजिक संस्थाहरुको प्रभाव देखिन थालेका छन् । यसरी स्थापना भएका सामाजिक संस्थाहरुले आ–आफ्नै तौरतरिकाले समाज जागरणका अनेक कार्यक्रमहरु सञ्चालन गरेका छन् । कतिपयले उद्देश्य अनुरुप काम गरेका छन् भने कति त नाममा मात्रै सिमित छन् । समाज रुपान्तरणको पहिलो आधार शिक्षा हो । शिक्षित समाज नै सभ्य रुपमा अघि बढेका हुन्छन्, समयसापेक्ष अघि बढेका हुन्छन् । उनीहरु सञ्चार स्रोतको उपयोग गर्दछन् । सूचना प्राप्त गरेर सुविधा भोग गर्दछन् । तर, कतिपय अवस्थामा शेर्पा समुदायमा स्थापना भएका सामाजिक संस्थाहरु व्यक्तिवादी चिन्तनबाट अभिप्रेरित भएर अघि बढेका पनि छन् । संस्थालाई व्यक्तिगत स्वार्थसँग गाँजेर अघि बढाउनले यसको गरिमामा धब्बा त लाग्छ नै संगठीत निकायप्रति आम हेराईमा समेत परिवर्तन आउने गरेका छन् । सामाजिक हितका लागि स्थापना भएका संस्थाहरु व्यक्ति प्रधान हुँदा आशनग्रहण, मञ्च प्रयोगमा मात्रै सिमित भएको पनि हाम्रो समाजमा थुप्रै उदाहरणहरु छन् । पछिल्लो समय शेर्पा समुदायमा रहेका संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व पूरा गरेको छ की छैन त ? भन्ने प्रश्न जटिल रुपमा उठ्दै आएको छ । यस प्रशंगमा अनुत्तरित हुँदै गएको यस्ता प्रश्नले आम समुदायको गरिमामा समेत आँच पुग्दै गएको आभास हुन थालेको छ । कारण, समुदायमा व्यक्ति पिच्छको संस्था, टोल पिच्छाको आफ्नै संगठन निर्माण गठन हुनु हो । संगठानिक संरचना, सञ्चालन विधि, प्रक्रिया, कार्यक्रमहरु नहुँदा नहुँदैपनि रहरमा खोलिने संस्थाहरुले सामाजिक उत्तरदायित्व र समुदायप्रति खेल्नु पर्ने भूमिका विर्सिँदै गएको हो की भन्ने अर्को प्रश्न खडा छ । यी समस्याको जड् भनेको पहिलो सर्वमान्य नेतृत्वको विकास नहुनु र दोस्रो नेतृत्व प्रति विश्वास नगर्नु र नेतृत्व स्वीकार्न नसक्नु कारण हो । धेरै अघिदेखि उठ्दै आएको विषयको मिलन विन्दु भनेको उद्देश्य मेलखाने संस्थाहरुवीच एकता र सर्वोच्च नेतृत्वमा सामाजिक संस्थाको एकिकरण नै हो । यो सवाल व्यापक रुपमा उठाउनुपर्ने र बहस हुनुपर्ने विषयको रुपमा अघि ल्याउनु टड्कारो आवश्यकता हो । सबैलाई समेटिएर अघि बढ्न सक्ने नेतृत्वको विकास गराउँदै उत्पन्न समस्याको समाधान, सवलीकरणतर्फ शेर्पा समुदाय उन्मूख हुनुपर्ने बेला आएको छ ।
पछिल्लो समय सामाजिक संस्थामा लामो समय काम गरेर प्रतिष्ठा आर्जन गरेका समुदायका अग्रजहरुको सार्वजनिक रुपमा नामछेदन गर्ने कार्य भइरहेको छ । जुनसुकै ठाउँमा पनि राजनैतिक वहस र विषय उठान शेर्पा समुदाय केन्द्रित भएर भइरहेको पाइन्छ । समुदायमा बसेर लामो समय समाज जागरणमा लागेकाहरु नै विभिन्न काण्डमा फस्दै जाँदा सामाजिक सेवा खाली खोक्रो आदर्श मात्रै हो की ? भन्ने प्रश्नपनि उत्तिकै खडा भएर आउँछ । कतिपयले सामाजिक संस्थालाई राजनैतिक प्रतिसोध साँध्ने माध्यमको रुपमा पनि भरपूर प्रयोग गर्दै आएका छन् । अधिकार प्राप्तिको आन्दोलनमा लाग्नुपर्ने बेला सामान्य विषयमा विवाद गरेर हामी समयसँगै अघि बढ्न नसकेको अवस्थापनि विद्यामान छ ।
समुदायका प्रतिष्ठित व्यक्तिहरुका सन्दर्भमा अनेकन सवालहरु खडा भइरहँदा जातीय एकता, क्षेत्रीयताको भावलाई हटाउँदै समुदायका व्यक्तिहरुको बचाउका लागि सामुहिक धारण बनाएर अघि बढ्नुपर्ने सन्दर्भलाई पनिसँगसँगै लैजानुपर्ने हुन्छ । सचेतनामुलक कार्यक्रमहरुको माध्यमबाट हामीले समाजमा समुदायप्रतिको आम बुझाई, हामीले चाल्नुपर्ने कदम, भावि रणनीतिका सन्दर्भमा समेत व्यापक वहस पैरवीहरु सञ्चालन गर्दै समुदायलाई बौद्धिक क्षमताले यूक्त बनाउँदै अघि बढाउनुपर्ने हुन्छ यसो गर्दा मात्रै सामाजिक उत्तरदायित्व पूरा गर्ने भएको पहिलो सूचांक पत्ता लागेको मान्न सकिन्छ । तर, अहिले हाम्रो संघसंस्थाहरु जुनसुकै मञ्चमा पनि एउटै व्यक्तिको उही पुरानै धारण, अभिव्यक्तिहरुलाई सुन्छौं, सुनाउँछौं । यसबाट न नयाँ कुराको सूचना प्रवाह नै हुन्छ न त जागरणनै ल्याउँछ । यसले त खाली हाम्रो समय व्यातित् गराउने र औपचारिकता पूरा गर्ने बाहेक अर्को भएका छैनन् । समग्रमा शेर्पा समुदाय यतिवेला ‘शुन्य’ उपलब्धिका पछाडि मञ्च खडा गर्दै अघि बढेको छर्लंग छ । उही प्रकृतिको कार्यक्रम व्यानर र आयोजक संस्थाको नाम फरक भएर मात्रै कार्यक्रमको उचाई बढ्ने कदापी होइन । समुदायमा प्रभावकारी कार्यक्रम सञ्चालन र सचेतना अभिवृद्धिका लागि विषय, वक्ता र सन्दर्भ समेत फरक चयन गर्नुपर्ने हुन्छ तर हामीले त्यसो गर्न सकिरहेका छैनौं । ठूलो मञ्च निर्माण गरेरपनि हामी व्यक्तिको मनको तरकनाहरुलाई सुनाइरहेका हुन्छौं । पुरानै अभिव्यक्तिहरु दोहो¥याई तेहे¥याई श्रवण गरिरहेका हुन्छौं । विकल्पका रुपमा केही समयअघि स्थापना भएको शेर्पा युवा विद्यार्थीहरुको समूह ‘शेर्पा फर चेन्ज’ ले फरक तवरले कार्यक्रम आयोजना गर्दै आएको छ । यसलाई उदाहरणको रुपमा लिन सकिन्छ । त्यस्तै, शेर्पा विद्यार्थी संघले बार्षिक रुपमा गर्ने कार्यक्रमले पनि समुदायमा फरक खाले सन्देश प्रवाह भइरहेको छ । तर, अरु धेरै सामाजिक संघसंस्थाहरु सुसुप्त रुपमा रहेका छन् । देशविदेशमा स्थापना भएका सामाजिक संस्थाहरुको पनि व्यथा भन्दा फरक छैन । उतैबाट भाषा, संस्कार, संस्कृती र पहिचानका लागि सक्दो गरेका छन् । यसबाट ती संस्थाहरुले अलिकतिमात्रै भएपनि संगठनको मर्म, भावना अनुरुप उत्तरदायित्व महशुस गरेको भन्न सकिन्छ । अन्यथा अन्य संगठीत संस्थाहरुले समाज रुपान्तरण, सामाजिक आर्थिक विकास, सचेतना अभिवृद्धि लगायतको क्षेत्रमा कदमहरु समयसापेक्ष अघि बढाउन सकेको होइन की भन्ने प्रश्न विद्यामान छ । अब सामाजिक संस्था स्थापना भन्दापनि भएका यसको व्यवस्थापन गर्दै सामाजिक उत्तरदायित्व सहितको समाज रुपान्तरणको मार्गमा अग्रसर गराउने दिसातर्फ सचेत वर्ग लाग्नुपर्ने र सोही अनुरुप जगजगाउनुपर्ने हुन्छ । यसबाट मात्रै समुदायको श्रीबृद्धि हुने र हामीले लगाउँदै आएका नारा, उठाउँदै आएका सवाल र सामाजिक संस्था स्थापनाको सार्थकता पूरा हुने देखिन्छ । यसका लागि समयसापेक्ष रुपमा सही नेतृत्व र नीति बन्नुको विकल्प छैन ।
लाक्पा जी शेर्पा (संस्थापक अध्यक्ष, शेर्पा पत्रकार संघ–नेपाल ।)
The post शेर्पा समुदायः सामाजिक संस्था र उत्तरदायित्व appeared first on .
from https://ift.tt/2I56k77
No comments:
Post a Comment