रासस – सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न अन्तरिम आदेश जारी गरिएको छ । “वैदेशिक रोजगारीमा रहेर अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसङ्ख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्नुपर्छ”, आदेशमा भनिएको छ ।
नेपालको अर्थतन्त्रलाई ठूलो टेवा दिइरहेको वैदेशिक रोजगारीमा रहेका नेपालीले रोजगारी गुमाई अत्यन्त नाजुक, असुरक्षित, अस्वस्थ अवस्थामा बस्नुपरेको उल्लेख गर्दै आदेशमा राज्यले यस्तो अवस्थालाई अनदेखा गर्न नसक्ने उल्लेख छ । “एकातिर उनीहरुमा सङ्क्रमणको जोखिम रहेको छ, अर्कोतिर सङ्क्रमित हुँदा उपचारमा पहुँच छैन”, आदेशमा भनिएको छ, “केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्काइ दिन आफ्नो सरकार गुहारिरहेका भनी रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुलु हेरेर बस्न सक्ने देखिँदैन ।” अदालतले महामारीको अवस्थामा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी थप प्रयास गर्न आवश्यक देखिएको उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन आदेशको माग गर्दै अधिवक्ता सोमप्रसाद लुइँटेलले बुधबार सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त निवेदनमाथिको पहिलो प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो ।
The post वैदेशिक रोजगारीमा रहेकालाई उद्धार गर्न सर्वोच्चको आदेश appeared first on .
from https://ift.tt/2XHkT8M
No comments:
Post a Comment