नेपाल शेर्पा संघको नेतृत्वका लागि उमेद्वारी दिएकाहरुको सबल र दुर्बल पक्षहरुको चिरफार - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 16, 2019

नेपाल शेर्पा संघको नेतृत्वका लागि उमेद्वारी दिएकाहरुको सबल र दुर्बल पक्षहरुको चिरफार

यो शिर्षकमा यथार्थपरक रुपले कुनै पक्षसँग पक्षपोषित नभईकन लेख लेखिसकेपछि पक्कैपनि उनीहरुले वा उनीहरुको समर्थकहरुले यो पंत्तिकारको भुमिकाप्रति प्रश्न गर्नुहुनेछ, किनकी यो पंत्तिकार नेपाल शेर्पा संघको पाँचौ महाधिवेशनबाट निर्वाचित सचिव हो र उक्त महाधिवेशन सम्पन्न भएको करीब एक बर्षपछि नै यूरोपतिर बसाई सरेको व्यक्ति हो । यसर्थ सर्वप्रथम पंक्तिकारले यो बिषयबस्तुमा प्रवेश गर्नुभन्दा पहिला आफ्नो भुमिका र योगदानको बारेमा प्रष्ट पार्दै बिषयबस्तुको चिरफार गर्नसक्ने नैतिक धरातललाई पुष्टि गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा नेपालमै बसेर नेपाल शेर्पा संघको दैनिक कार्यसञ्चालन र नियामित बैठकहरुमा प्रत्यक्ष उपस्थित भएर योगदान गर्न नसकेता पनि संघको यो कार्यकालले पहलकदमी लिएर सगौरब रुपमा आयोजना सम्पन्न गरेको प्रथम विश्व शेर्पा सम्मेलन र सो को माध्यमबाट विश्व शेर्पा संघको गठन हुनुलाई नेपाल शेर्पा संघले यो कार्यकालको प्रगति ठानेर प्रतिवेदनमा उल्लेख गरिन्छ भने, त्यसको धरातल तयार गर्न वा जग बसाल्नका लागि दिनरात मिहनेत गर्ने यही पंत्तिकार पनि हो । त्यसै गरी यूरोप आएपश्चाद पनि शेर्पाहरुको हकहित र पहिचानका खातिर शेर्पा संघ यूरोपको महासचिव पदमा निर्वाचित भई सामाजिक अभिमानमै केही योगदान गर्दै एक कार्यकाल सम्पन्न गरेको, साथै त्यही धरातलमा बसेर नेपाल शेर्पा संघको भवन खरीदका लागि यूरोपबाट धेरथोर केही सहयोग संकलनका प्रयास गरेको व्यक्ति पनि यही पंक्तिकार नै हो । तसर्थ प्रक्तिकारले आफ्नै बारेमा यति भनिसकेपछि आफ्नो केही नैतिक धरातल तयार गर्दै अब मूल बिषयबस्तुमा प्रवेश गर्न चहान्छु ।
यतिबेला नेपालमा विशेष गरी काठमाण्डौंमा नेपाल शेर्पा संघको छैठौ महाधिवेशनको माहौलले सिङ्गो शेर्पा समूदाय जुर्मराएको महसुस गर्न सकिन्छ । अरुबेला आफ्नै निजी काममा व्यस्त भईरहने अधिकांश व्यक्तिहरु समेत पनि यो महाधिवेशनको छेक पारेर आफुलाई सामाजिक अभियानमा सरिक गराईरहेको पनि हामीले देखिनै रहेका छौ । खैर, धेरै वा थोरै, सधै वा कहिलेकाही जे जसरी भएपनि मानिसहरु सामाजिक अभियानमा संलग्न भएर योगदान गर्न खोज्नुलाई नराम्रो कदापी भन्न हुँदैन, बस् उनीहरुको नियत चाहिँ सफ हुनुपर्छ । यही पौष ४ र ५ गते नेपाल शेर्पा संघको छैठौं महाधिवेशनको मिति तय भएसँगै विशेष गरी संघको आगामी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । यसै रस्साकस्सीमा राजनीतिक पार्टीगत गुटबन्दीले अझ माहौल पेचिलो भैदिन्छ । हुन त खासगरी सामाजिक संस्थाहरुमा राजनीतिक गुटबन्दी हुनुहुदैन भन्नेहरुपनि धेरै छन र त्यो सिद्धान्तत सही पनि हो तर, यो पंत्तिकारलाई के लाग्छ भने नेपाल देशको नागारिकता नै त्यगेका गैरआवासीय नेपालीहरुले विदेशतिर गरिहिड्ने नेपालको राजनीतिक गुटबन्दी भन्दा धेरै गुणा माथि नेपाल शेर्पा संघमा हुने यस्तो राजनीतिक गुटबन्दी जायज हो । त्यसमा नेपाल शेर्पा संघ एउटा समूदायको अधिकारमुखी संस्था पनि हो, र उसको अभियानको सिधा सम्बन्ध नेपालको राजनीतिसँग नै प्रत्यक्ष जोडिएको छ ।
अहिले पनि यसै राजनीतिक गुटबन्दीकै आधारबाट नै नेपाल शेर्पा संघको छैठौं महाधिवेशनमा पनि नेतृत्वका लागि उमेद्वारीहरु घोषणा भएको कहिकतै छिपेको बिषय होईन । नेपाली काँग्रेस पार्टीबाट गेल्जे लामा शेर्पा, नेकपाबाट ङवाङ सोनाम शेर्पा र समाजवादी पार्टीबाट लाक्पा शेर्पाले नेपाल शेर्पा संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा आफ्नो उमेद्वारी प्रस्तुत गरिसकेका छन । यसरी नेपाल शेर्पा संघको नेतृत्व गर्ने अभिलाषा बोकेर उमेद्वारी प्रस्तुत गरिसकेपछि भोली यही ३ जना मध्ये नै कुनै एकले नेपालको सिङ्गो शेर्पा समूदायको नेतृत्व गर्नेछन् तसर्थ उनीहरुको बारेमा आम सबैले जान्न बुझ्न चहान्छन र त्यो जायज पनि हो । यसै मेसोमा यी ३ जना उमेद्वारहरुको सबल र दुर्वल पक्षहरु बारे संक्षेपमा केही कुराहरु प्रस्तुत गर्दछु । साथै उनीहरुको रोलक्रमलाई नामको आधारमा नेपाली व्यञ्जनवर्णको वर्णानुक्रम अनुसार क्रमशः प्रस्तुत गरिएको छ । जसले गर्दा पक्षपात गरी अगाडी पछाडी राखियो भन्ने आरोपबाट पनि पंक्तिकार मुक्त हुनेछ भन्ने विश्वास गर्दछु ।

 

अध्यक्ष पदका उमेद्वार नं. १ ः गेल्जे लामा शेर्पा, रामेछाप

नेपाल शेर्पा संघका वर्तमान उपाध्यक्ष गेल्जे लामा शेर्पाको स्थायी जिल्ला रामेछाप हो । निर्माण व्यवसायी समेत रहेका उनी आर्थिक रुपमा सम्पन्न छन । सामाजिक अभियानमा पनि गेल्जे लामा धेरैको लागि अपरिचित नाम होईन । उनलाई लम्बु गेल्जे भनेर धेरैले चिन्छन, किनकी उनको शारीरिक कद अलि अग्लो छ र, उनले सोही कदबाट धेरैले चिन्ने पहिचान पाएका छन । नेपाल शेर्पा संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका उनको सबल पक्ष भनेको उनी आर्थिक रुपमा सम्पन्न छन, आर्थिक रुपमा धेरैलाई सहयोग पनि गर्दै आएका उनलाई परिआएको अवस्थामा संघको आर्थिक अवस्था मजबुत बनाउन समस्या पर्ने छैन ।
त्यसै गरी उनको दुर्बल पक्ष भनेको पनि उनको धनाढ्या पहिचान नै हो । अधिकारमुखी संस्था नेपाल शेर्पा संघले आम शेर्पाहरुको पहिचान र अधिकारका खातिर विभिन्न खाले आन्दोलनहरु गर्दैआईरहेका छन, र अझै त्यो अभियान र आन्दोलनहरुलाई निन्तरता दिनुपर्ने जिम्मेवारी आगामी कार्यकाललाई पनि अवश्य हुनेछ । त्यस अवस्थामा हुने सडकका विभिन्न खाले आन्दोलनहरुमा सरिक हुन उनी अप्ठयारो मान्ने लख काट्न सकिन्छ । किनकी आर्थिक रुपमा सम्पन्न भएका अधिकांश धनाढ्या मान्छेहरु सबैकुरा आर्थिकबाटै सुल्झाउन चहाने मानवीय स्वाभाव हुन्छ । त्यस्तै उनको अर्को दुर्वल पक्ष भनेको गत दशैमा करोडौको जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवाखालबाटै प्रकाउ गरेर भिआईपी जुवाडेको संज्ञा दिएकाहरु मध्येका एक व्यक्ति उनी पनि हुन । पछि उनी धरौटीमा रिहा भएका थिए र सो बारेको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ । नेपालमा जुवा खेल्नुलाई प्रचलित कानुन बमोजिम अपराध मानिन्छ । अहिले उनलाई नेपाली काँग्रेस निकट संस्था लोकतान्त्रिक शेर्पा संघले घोषित रुपमा नै आफ्नो उमेद्वारको रुपमा अगाडी सारेका छन ।

 

अध्यक्ष पदमा उमेद्वार नं. २, ङवाङ सोनाम शेर्पा, सोलुखुम्बु ।

नेपाल शेर्पा संघका बर्तमान महासचिव ङवाङ सोनाम शेर्पाको स्थायी जिल्ला सोलुखुम्बु हो । उनको नाम पनि शेर्पा समूदायको सामाजिक अभियानमा नयाँ होईन । नेपाल शेर्पा विद्यार्थी मञ्चको स्थापनाकालदेखि नै सामाजिक अभियानमा सक्रिय रहेको उनको अर्को पहिचान पुर्व राजदुत लक्की शेर्पाको श्रीमान समेत हुन । करीब १० बर्ष अमेरिका बसेर फर्केका उनी आर्थिक रुपमा पनि विपन्न वर्गका मान्छे होईनन् । नेपाल शेर्पा संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका उनको सबल पक्ष भनेको एक अध्यानशील बौद्धिक व्यक्ति हुन । संयुक्त राष्ट्रसंघको आदिवासी जनजाति सम्बन्धी महासन्धि आई एल ओ १६९ र मानवअधिकार सम्बन्धी संस्थाहरुमा समेत जोडिएर काम गरेको अनुभाव भएकाले नेपाल शेर्पा संघको अभियानसँग समेत प्रत्यक्ष सम्बम्ध राख्ने ती बिषयहरुमा अरु २ उमेद्वारहरु भन्दा उनले बढी ज्ञान राख्दछन । शेर्पा समूदायको पहिचान र अधिकारको प्राय सबै अन्दोलनहरुमा उनी खरोरुपमा उत्रिदै आएका छन ।
त्यसै गरी उनको दुर्बल पक्ष भनेको उनका निकटस्थहरुले समेत उनको निर्णय क्षमता अलि कमजोर भएको बताउछन । उनलाई उचित समयमा उचित निर्णय लिन नसक्ने आरोप लगाउछन । त्यसै गरी उनको अर्को दुर्बल पक्ष भनेको मानव तस्करीको आरोपमा विदादित बनेपछि अष्ट्रेलियाको नेपाली राजदुत पदबाट राजीनामा दिएकी लक्की शेर्पाको उक्त बिषयसँग प्रत्यक्ष नाम जोडिनु हो । विभिन्न व्यक्तिहरुले गाईगुई आरोप लगाउने कुरा मात्रै नभई नेपालको राष्ट्रिय मिडियाहरु मार्फत नै स्पेशल रिपोर्ट बनाएर बाराम्बार सो बिषयसँग उनको संलग्नता देखाईएको थियो । उक्त बिषय राजदुत लक्की शेर्पाको राजीनामा सँगै त्यसै सेलाएर गएको छ । न उनीहरु माथि लागेको आरोप पुष्टि भयो न त उनीहरुले सफाई नै पायो । यो बिषय रहस्यको गर्भमै रहेको छ । ङवाङ सोनाम शेर्पा नेकपा निकट व्यक्ति भएकोले उनलाई नेकपाको साथ रहेको बुझ्न सकिन्छ ।

 

अध्यक्ष पदमा उमेद्वार नं. २, लाक्पा शेर्पा भोजपुर ।

हिमालयन शेर्पा संस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष र उपप्रधानमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव समेत रहेका लाक्पा शेर्पाको स्थायी जिल्ला भोजपुर हो । पेशाले एक संगीत शिक्षक समेत रहेका उनी पनि शेर्पा समूदायको सामाजिक अभियानमा पछिल्लो समय अपरिचित नाम होईन । नेपाल शेर्पा संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका उनको सबल पक्ष भनेको उनी पनि एक अध्यानशील बौद्धिक व्यक्ति हुन । शेर्पाहरुको पहिचान र अधिकारको सवालमा खरो उत्रिन सक्ने उनी एक स्पष्ट वक्ताको रुपमा पनि चिनिन्छ । बिषयबस्तुलाई गहिरो अध्ययन गरेर तार्किक रुपमा प्रस्तुत गर्ने गर्दछन । शेर्पाहरु आफ्नो पौराणिक थाकथलोबाट विस्थापित हुँदै गएको कुरालाई गहिरो चिन्ताका साथ सो कुरालाई पनि अध्ययन गरेर कसरी पुनःस्र्थापित गर्न सकिन्छ भन्ने अभियानमा पनि उनी अहिले जुटेका छन ।
त्यसै गरी उनको दुर्बल पक्ष भनेको उनी अरु दुई उम्मेद्वारहरुको तुलनामा आर्थिक रुपले अलि कमजोर हुनु हो । यही आर्थिक दुर्बलताको कारणले आर्थिक सबलताको दाहिने हुने शेर्पा समूदायमा उनलाई एक कमजोर उमेद्वारको रुपमा हेरिनेछ । त्यसै गरी शेर्पा संघको अध्यक्ष पदमा दाबी गरिरहँदा उनको अन्तरजातीय विवाह पनि एक दुर्बल कारणको रुपमा हेरेर आरोपित गराईनेछ । उनी समाजवादी पार्टी निकट भएकोले उनलाई समाजवादी पार्टीको साथ हुन सकिन कुरा बुझ्न सकिन्छ ।

हुन त मान्छे सबैको केही सबल र दुर्बल पक्ष अवश्य हुन्छ, निकटस्थहरुले सवल पक्षको प्रचार गरी गुनगान गाउँदा उनको दुर्बल पक्ष ओझेल पर्दछ भने विपक्षीहरुले दुर्बल पक्षको मात्रै प्रचार गरिने हुँदा उनको सबल पक्ष अझेलमा परिरहेका हुन्छ, तसर्थ यहाँ तिनै जना प्रत्यासीहरुको केही यथार्थताको धरातलमा रहेर दुबै पक्षको चिरफार गर्ने प्रयत्त गरेको छु । बाँकी सबै अधिकार उनीहरुलाई आगामी महाधिवेशनमा मत जाहेर गर्ने आम शेर्पा समूदायमा निहित राखेर बिषयलाई अन्त्य गर्दछु । थुचिछे,

 

-पेम्बा गेलु शेर्पा
सचिव, नेपाल पत्रकार महासंघ यूरोप शाखा ।

The post नेपाल शेर्पा संघको नेतृत्वका लागि उमेद्वारी दिएकाहरुको सबल र दुर्बल पक्षहरुको चिरफार appeared first on .



from https://ift.tt/34mp9Ks

No comments:

Post a Comment

Pages