मसाभ प्रमुख गील हासकेलले गरे पाटन दरबारको अवलोकन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 16, 2019

मसाभ प्रमुख गील हासकेलले गरे पाटन दरबारको अवलोकन

ललितपुर, मंसिर २५
इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा पाटन दरबार क्षेत्र भ्रमण गरि महानगरपालिकासँग भगिनी सम्बन्धको प्रस्तावमा हस्ताक्षर गरेका छन ।

नेपाल सरकारको निमन्त्रणामा पाँच दिनको नेपाल बसाइका क्रममा हासकेलको टोलीले प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग भेट कार्यक्रम सकेर गत बिहिवार पाटन दरबार क्षेत्र अवलोकन गरेका हुन । दरबार क्षेत्रमा साँस्कृतिक लाखे नाचकासाथ नेपाल महिला चेम्बरका कार्यसमिति सदस्य पृथविन्दु महर्जनको संयोजनमा सो टोलीलाई विशेष स्वागत गरिएको थियो ।

टोलीसँगै नेपालका विभिन्न ठाउँको फिल्ड भिजिट गरेकी राजदूत डाक्टर शाक्यले पाटन दरबार क्षेत्रको ऐतिहासिक साँस्कृतिक पाटो, विशेषतः देवगण नाचका परम्परागत वस्त्रहरुमा चित्रण गरिने षटकोण र इजरायलको राष्ट्रिय झण्डामा ईंगित शिल्ड अफ डेभिडको एकरुपताबारे बर्णन गरेका थिए ।

राजदूत शाक्यले मंगः हिटीको पानी, अगाडीको विश्वनाथ मन्दिर पूर्वतिरका हात्तीहरु अनि मल्ल राजा योगनरेन्द्र मल्लको शिरमाथिको चरा सम्बन्धि ईजरायलमा चर्चित ऐतिहासिक शान्ति गीतबारे हासकेललाई जानकारी दिनुहुँदा अन्त्यन्त रुचीपूर्वक सुन्नुभएका थिए । सोही अवसरमा ईजरायलको हाइफा र हर्जलिया शहरसँगको ललितपुर महानगरपालिकाको भगिनी सम्बन्धको प्रस्तावमा हस्ताक्षर आदान प्रदान समेत भएको हो ।

मसाभ प्रमुख हासकेलले आफ्नो बैदेशिक यात्राका क्रममा पहिलो प्राथमिकतामा नेपाललाई राखेर भ्रमण गर्नुकासाथै प्रविधि हस्तान्तरणका लागि यसरी चासो व्यक्त गर्नु नेपालका लागि राम्रो अवसर भएको ईजरायलकालागि नेपाली राजदूत डा. शाक्यले बताएका छन ।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको ईजरायलको संस्था मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएकोे बुझिएको छ ।

‘इजरायलको कृषि प्रवृधि नेपालमा भित्राई नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन उहाँहरुको सहयोग कोशेढुंगा हुनसक्ने अपेक्षा गर्न सकिन्छ,’ राजदूत शाक्यले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यु, परराष्ट्र मन्त्रालय र विभिन्न सरोकारवाला मन्त्रालयसँगको छलफलमा पनि मसाभ प्रमुखले सम्झौतालाई जतिसक्दो छिटो अघि बढाउन चाहेको बताउनु भएको छ । यो सकारात्मक छ ।’ राजदूत शाक्यले इजरायल फर्किएपछि आफुले यसका लागि दुबैतर्फ पहल गर्ने बताएका छन ।

शाक्य इजरायलको राजदूत भएर गएपछि छोटो समयमै दुई देशबीचको सम्वन्धले नयाँ उचाई लिएको र छोटो अवधिमा नै यति धेरै सफलता हासिल भएको कुटनितिज्ञहरुले बताएका छन् । यस अघि पनि उहाँले मृत्तसागर जहाँ बर्षेनी तीस लाख पर्यटक आउने गर्छन उक्त स्थानमा ‘सगरमाथा चीनमा रहेको’ भनी लेखिएको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई सच्याउन लगाइ नयाँ होर्डिङ बोर्ड राख्न लगाउनु भएको थियो ।

के-के भए पाँच दिनको नेपाल बसाइमा ?

पाँच दिनको नेपाल बसाइका क्रममा हासकेल, इजरायली राजदूत बेनी ओमार र राजदूत डा. शाक्यका साथमा परराष्ट्र मन्त्रालयका उप सचिव सुरेश अधिकारी र कृषि मन्त्रालयको सहसचिव राजेन्द्र मिश्र, प्रदेश–१ का आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीसहितको टोली लगायतले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रम र दमक–३ मा रहेको मानसरोवर कृषि सहकारीे पनि अवलोकन गरेको थियो ।

उहाँहरुले झापा, उदयपुरसँगै इजरायलबाट फर्किएका विद्यार्थीले खोलेको लमजुङको एग्रो फार्मलगायतको पनि फिल्ड भिजिट गर्नुभएको थियो । नेपाल बसाइकै क्रममा सो टोलीले नेपाल चेम्वर अफ कमर्स, नेपाल–इजरायल चेम्वर अफ कमर्सलगायतसँग पनि छलफल गरेको थियो । साना किसान विकास संस्थाले आयोजना गरेको कार्यक्रमा पनि उहाँहरु सहभागी हुनुभएको थियो । अहिलेसम्म तीन हजार बढी विद्यार्थी इजरायलबाट कृषि प्रविधिसम्वन्धि ११ महिने तालिम गरेर स्वदेश फर्किएका छन् ।

यस्तै नेपालमा स्मार्ट ग्रिड सेन्टर खोल्ने विषयमा सम्झौता भएपछि स्मार्ट मिटर उत्पादन गर्न र सो स्मार्ट मिटरहरु विदेशमा समेत निर्यात गर्न नेपाल सक्षम हुने गरि १ हजार बढी व्यक्तिहरुले नेपालमै रोजगारी पाउने बिश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले पनि भेटका क्रममा इजरायलसँग तालिम र सीप विकाससँगै प्रविधि हस्तान्तरणका लागि जतिसक्दो छिटो सम्झौता गर्न नेपाल तयार रहेको बताएका छन ।

The post मसाभ प्रमुख गील हासकेलले गरे पाटन दरबारको अवलोकन appeared first on .



from https://ift.tt/38OyKNt

No comments:

Post a Comment

Pages