शेर्पा भाषाको विकासमा सूचना प्रविधिको प्रयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 25, 2019

शेर्पा भाषाको विकासमा सूचना प्रविधिको प्रयोग

एक जना व्यक्तिको अभिव्यक्तिलाई अर्को व्यक्ति वा समुदायमा संचार गराउने माध्यम नै भाषा हो । भाषा विना हामी हाम्रो विचार र भावलाई व्यक्त गर्न सक्दैनौं, यस अर्थमा भाषा अत्यन्त सम्वेदनशील विषय हो, र भाषा विनाको मानव सभ्यताको हामी कल्पना सम्म गर्न सक्दैनौं । संसारमा फरक फरक मानव सभ्यता र समुदायको परिचय नै उसको भाषाले दिई रहेको हुन्छ । त्यसैले हामी शेर्पाहरूको पनि परिचय र पहिचान नै हाम्रो भाषा हो । हाम्रो भाषा नै हाम्रो धर्म, कला, संस्कृति र सभ्यता हो वा अझ सरल रूपमा भन्ने हो भने हामी शेर्पाहरूको जीवन पद्धति नै हाम्रो भाषा हो । हामीमा धर्म, कला, संस्कृति, पहिचान अनि सभ्यता प्रति अति लगाव छ, माया छ र आफ्नो शेर्पा भाषा विना यो सबैको विकास अनि संरक्षण पनि असंभव छ, भन्ने भरपुर चेतना पनि हामीमा छ । तर, यहि हाम्रो भाषाको संरक्षण नै हामी गर्न सकिरहेका छैनौं । भाषा गुमे हाम्रो पहिचान पनि गुम्छ भन्नेमा हामी सचेत छौं तर त्यही हाम्रो पहिचान जोगाई दिने हाम्रो भाषालाई हामीले गुमाई रहेका छौं । त्यसो नहुँदो हो त मेरो यो लेख तपाईंहरूले हाम्रै सम्बोटा लिपि र हाम्रै शेर्पा भाषामा पढिरहेका हुन्थे । हाम्रो लिपि हाम्रै धर्म गुरुज्युहरूमा मात्र सिमित छ उहाँहरूले पनि यो लिपीलाई धार्मिक कर्मकाण्डमा मात्र सिमित राखेका छन् ।
हामीले हामी विश्वभरी जहाँ छरिएर रहे पनि हाम्रो भाषा धर्म संस्कृतिको संरक्षण गर्ने भन्दै नेपाल लगायत संसारभरि जहाँ जहाँ हामी पुग्यौं त्यहाँ त्यहाँ हामी एकत्रित भयौं अनि किदुक र संघ संस्थाहरू खोल्यौं । अहिलेसम्म हामीले जतिवटा संघ संस्थाहरू खोल्यौं केही अपवाद बाहेक ती सबै संघ संस्थाहरूले एउटै प्रकृतिका काम गरे । वर्षमा एकचोटि लोसार कार्यक्रमको आयोजना, सो कार्यक्रमहरूमा भेटघाट अनि नाचगान । निश्चय पनि यो एउटा सकारात्मक पक्ष हो । एकै दिन मात्र भएपनि शेर्पा पोसाक, गीत संगीत अनि नाँचगानमा हामीले शेर्पापन झल्किएको महसुुस गर्न पाउँछौं । तर शेर्पै शेर्पाको त्यत्रो ठुलो जमातमा एकाध बाहेक कहीकतै एक आपसमा शेर्पा संवाद गरेको हामी सुन्दैनौं, अनि यस्तो महसुुस हुन्छ बोक्रा खाएर फल चाहिँ फ्याँकिरहेका छौं ।
मेरो यो एउटा अनुमान मात्र पनि साबित हुनसक्छ कि, कुनै समय यस्तो पनि थियो नेपालको पुर्वी ताप्लेजुङ जिल्लादेखी मध्य रसुवा हिमाली जिल्लासम्म बसोबास गर्ने हामी शेर्पाहरूलाई हाम्रो मातृभाषा शेर्पा बाहेक अन्य भाषाको सामान्य ज्ञान समेत थिएन । हाम्रो गाउँघरमा हाम्रै भाषाको वर्चस्व र अनिवार्यता थियो । वि. सं. २०४६ सालको राजनैतिक परिवर्तन पछि अवसरको खोजीमा विस्तारै हामी शहर केन्द्रीत हुन थाल्यौं । हुँदाहुँदा यो क्रम बढेर अहिले हामी संसारभर छरिएर रहेका छौं । शहर केन्द्रित हुँदै संसारभर छरिँदाको यो २५/३० वर्षको अवधिमा अधिकांश शेर्पाहरूले आफ्नो भाषा बिर्से भनेर अनुमान लगाउनु पनि गलत हुनेछ किनकी बसाई सर्दैमा मान्छेले भाषा बिर्सदैन । हाम्रो समुदायमा हामीले आफ्नो भाषा लोप हुँदै गए झैं देखिए तापनि तपाईं हामीले सोचे झैं यस्तो विकराल अवस्था भने छैन । पक्कै पनि हाम्रो भाषाको विकास भने भएको छैन तर हामीले बिर्सेका पनि छैनौ । हाम्रो भाषाको प्रयोग गर्ने वातावरण भने फेरिएको छ । हामी अहिले फरक फरक जिल्ला र गाउँहरूबाट बसाई सरेर भूमण्डलीकृत भएका छौं । हाम्रो पृष्ठभुमि फरक फरक भएकै कारण हाम्रो भाषा, संस्कृति अनि रितीरिवाजमा पनि अंशिक भिन्नता देखिनु सामान्य कुरा नै हो । भाषाको सवालमा त झन यो एकदमै सुन्दर पक्ष हो एउटै अर्थ दिने धेरै शब्दहरूले भाषालाई बलियो बनाउँदछ । तर यही सुन्दर पक्षलाई हामीले आत्मसात नगर्दा हामीले आजको यो दुर्गति भोग्नु परिरहेको छ । हामी जान्दै नजानेको अंग्रेजी बोल्न खोज्छौं, हामीलाई कुनै हीनताबोध हुन्दैन तर सानैदेखि आफ्नै घर गाउँमा बोल्दै आएको आफ्नै शेर्पा भाषा जब उपल्लो गाउँ अनि जिल्लाका आफ्नै शेर्पाजनहरू सँग बोल्नुपर्ने अवस्था आउँछ त्यो बेला मुखबाट शब्द उच्चारण हुनुभन्दा अगाडि नै हीनताबोधको महसुुस गर्न थाल्छौं । यो नै भाषा लोप हुने मुख्य कारण र जिम्मेवार पक्ष हो र यस्तो अवस्था सृजना हुनु भनेको अशिक्षित अनि अज्ञानताको संकेत हो । अहिले हामीसँग फरक भूगोलमा बोलिने तर एउटै अर्थ लाग्ने छुट्टाछुट्टै शब्दहरू मध्ये कुन चाहिँ ठीक हो भनेर छुट्टाउने कडी एउटा शेर्पा भाषाको बृहत शब्दकोष समेत छैन । न हामीसँग भाषा विज्ञान नै छ न त भाषाविद नै । न हामीले लिपि नै पढेका छौं न त यसको प्रयोग नै । अहिलेसम्मको शेर्पा भाषा ध्वनि तरंग प्रक्रिया (बोल्ने अनि सुन्ने) मार्फतमात्र पछिल्लो पुस्तामा हस्तान्तरण भैरहेको देखिन्छ ।
समय परिवर्तनशील छ । सूचना प्रविधिमा संसारले ठूलो फड्को मारिसकेको छ । यहि प्रविधिको देन स्वरुप हामी हाम्रो दैनिक जीवनलाई स्मार्ट फोनसँग जोडिरहेका छौं, र यो नै अहिलेको दैनिक आवश्यकीय वस्तुहरू मध्ये २४ सै घण्टा प्रत्येकको दैनिक जीवनमा प्रयोगमा आउने एकमात्र उपभोग्य बस्तु हो । अहिलेको यो प्रविधिको युगमा देश विदेशमा छरिएर रहेका हामी शेर्पाहरू माझ शेर्पा भाषा सिक्न सकिने एउटा शक्तिशाली र निर्विकल्प मोबाईल एप्लिकेसन बनाई पस्किन सकेको खण्डमा शेर्पा भाषाको संरक्षण र विकासमा एउटा सुनौलो अध्यायको शुरूवात हुनेछ । मोबाइल एप्लिकेसन यस्तो खालको बनोस जसमा सम्पूर्ण शेर्पा शब्दहरू खोजी गर्न सकिने एउटा बृहत शेर्पा शब्दकोषको रुपमा प्रयोग गर्न सकियोस् र स्पष्ट शब्द उच्चारणको लागि ध्वनि रेकर्ड पनि समावेश गरिएको होस । सबैले सजिलै सिक्न सकुन् भन्ने हेतु यसमा सम्बोटा, नेपाली र अंग्रेजी लिपीको प्रयोग होस । सिक्ने र सिकाउने प्रक्रियाहरूको अप्सनहरू राख्न सकियोस् जसलाई ध्वनि रेकर्ड र लिखित प्रतिक्रियाहरू मार्फत सिक्न र सिकाउन सकियोस् । लेखेर, सुनेर अनि आफैंले शब्द र वाक्यहरूको उच्चारण गरेर विभिन्न चरणहरूमा प्रवेश गर्दै स्वअभ्यास गर्न सकियोस् । प्रयोग गर्न सजिलो, आकर्षक र युवामैत्री होस् जसमा शब्दहरू सिक्न सकिने गरि गेम पनि खेल्न सकियोस् । यसको अतिरिक्त शेर्पा पात्रोलाई पनि जोड्न सकियोस् ।
हामीले प्रयोग गर्ने मोबाईलमा हामी दैनिक जसो सयौं एप्लिकेसनहरूको प्रयोग गर्छौं, र ती एप्लिकेसनहरूको भीडमा एउटा शेर्पा भाषा सिकाउने एप्लिकेसन पनि प्रयोग गर्न पाए संसारभरका हामी लाखौं शेर्पाहरू तथा शेर्पा भाषा सिकेर हामीसँग जोडिन चाहने गैरशेर्पाहरूले समेत लाभ लिन सक्ने थिए । यो एप्लिकेसन निर्माणको अहिले हामी परिकल्पना मात्र गर्दै छौं । तपाईं हामी मध्येबाट कुनै एक दुई जनाको प्रयत्नले मात्र यसलाई यतार्थमा बदल्न संभव छैन । यो कार्यको लागि संसारभरका सबै शेर्पा संघ संस्थाहरू जुट्नु आवश्यक छ । सूचना प्रविधिमा दक्षता राख्ने युवा जमातको सहयोगको आवश्यकता छ । शेर्पा भाषामा विज्ञताको हैसियत राख्ने र शेर्पा भाषाको उत्थान सम्बन्धी शेर्पा शब्दकोष तथा अन्य विभित्र कृतिहरू प्रकाशनमा ल्याई सकेका संघ संस्था, लेखक तथा प्रकाशक ज्युहरूको अनुभवको आवश्यक्ता छ । शेर्पा भाषाको उत्पत्तिको वास्तविक इतिहास, शब्द निर्माण प्रकृतीको यथार्थ प्रयोग, शेर्पा व्याकरण अनुसार शब्द र वाक्यको वर्गीकरण अनि लिपिको प्रयोगको लागि आदरणीय धर्मगुरु ज्युहरूद्वारा मार्ग निर्देशनको आवश्यक्ता छ । आउनुहोस् हामी दूरदराजका गाउँदेखि देश विदेशमा छरिएर रहेका सबै किसान, व्यापारी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, समाजसेवी, बुद्धिजीवी, धर्मगुरु आदि सबैको संलग्नतामा भाषा संरक्षण र उत्थानको निम्ति विश्व सम्मेलनको आयोजना नै गरौं, जुन सम्मेलनले प्रत्येक शेर्पा गाउँमा रहेका भाषिक विविधतालाई सम्मान गर्दै लिपिबद्द गर्न सकोस् र त्यसैलाई आधार बनाई शेर्पा बृहत शब्दकोष, व्याकरण तथा भाषा सिकाइको वैज्ञानिक विधिको लेखन कार्य सम्पन्न गरि अनुमोदन गर्न सकोस् । उक्त सम्मेलनले अनुमोदन गरेका यी सामाग्रीहरूलाई मोबाइल एप्लिकेसनमा समाबेश गर्नुका साथसाथै भाषाविज्ञानको रूपमा यी सामाग्रीहरूलाई पुस्तकको रूपमा पनि छापौं । सबै तह र तप्काका हामी शेर्पाहरू जुटेर यो कामको सफल नतिजा दिन सक्यौं भने यो नै हाम्रो पछिल्लो पुस्ताको लागि सबैभन्दा सुन्दर र अमूल्य उपहार नै हुनेछ र यो अभियानको थालनीमा जति हामीले ढिला र्गयौं त्यसको मूल्य हाम्रै सन्ततिले चुकाउनु पर्नेछ । कुनै एकजना व्यक्तिले यस्तो महाम कार्यको थालनी गरेर अन्तिम नतीजा दिनु भनेको धेरै चुनौतीपूर्ण हुन्छ । त्यसैले म यस शेर्पा संघ यूरोपमा आवद्ध रहेको हैसियतले यो कार्यको थाल्नी निकट भविष्यमा नै यो संस्थाले गरोस् भन्ने चाहना राख्द्छु ।

The post शेर्पा भाषाको विकासमा सूचना प्रविधिको प्रयोग appeared first on .



from http://bit.ly/2XzCjV5

No comments:

Post a Comment

Pages