शेर्पा पोशाकमा दुई एकल शेर्पा महिलाको सगरमाथा आरोहण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

शेर्पा पोशाकमा दुई एकल शेर्पा महिलाको सगरमाथा आरोहण

सगरमाथामा आफ्नो श्रीमान गुमाएको दुई एकल शेर्पा महिलाले ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सगरमाथाको सफल आरोहण गरेका छन ।   सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । निमा डोमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले पाँच वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए भने फुरदिकीका पति मिङ्मार शेर्पाको छ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो । हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गरेका थिए ।

एकल महिला सधैँ शोकमा बस्ने हैन शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश दिनको लागि आरोहण गरेको आरोही महिलाको भनाइ छ । वर्षेनी हिमाली क्षेत्रको पदयात्रमा गएका सयाँै आरोही र उनका सहयोगीको मृत्यु हुने गरेको छ । आरोही महिलाले भने आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

आफन्त वियोगले कोठामै दिन कटाइरहेका एकल महिलालाई विभिन्न सीप र योजना दिएर सङ्घर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका लागि सगरमाथा अरोहणमा गएको उनीहरुको भनाइ छ । पतिसँगै जोक्पे लिएर धेरैपटक आधार शिविर पुगेका फरदिकी र निमाले पति गुमाएपछि पनि यो पेशालाई निरन्तरता दिँदै उचाईतर्फ लगेका हुन् । सगरमाथाको शिखरमा पुगेर फर्केपछि सगरमाथालगायत हिमालयमा ज्यान गुमाउनेका पत्नीलाई सङ्गठित गर्दै संस्था खोल्नेसमेतको उनीहरुको योजना छ ।



from Sherpa media Group Nepal http://bit.ly/2JAhQsA

No comments:

Post a Comment

Pages