अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै

सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै गएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ ।
चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले १० मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजनाका उपकार्यकारी निर्देशक करनबहादुर चन्दका अनुसार सो क्षेत्रका दुई परिवारलाई जग्गाको मुआब्जा वितरण गरिएको छ ।

“सडक निर्माण हुने वित्तिक्कै उपकरण ढुवानी गरिनेछ,” उहाँले भन्नुभयो । निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरीगाड जलविद्युत् आयोजना निर्माणको लागि रु दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । यस्तै मङ्सिरभित्र अपि हिमाल गाउँपालिका–३ घट्टे खोलामा एक सय किलोवाट क्षमताको आयोजना निर्माण गरिँदैछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा सो आयोजना निर्र्माण गर्न लागिएको हो । आयोजना बनाउन शक्ति इञ्जिनीयरिङ प्रालिसँग रु तीन करोड ४२ लाखको सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दनसिंह धामीले बताउनुभयो ।

“वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु दुई करोड ८५ लाख सहयोग गर्नेछ,” उहाँले भन्नुभयो । गाउँपालिकाले रु एक करोड ९० लाख उपलब्ध गराउनेछ । “रु चालीस लाख भुक्तानी गरिसकेका छौँ,” गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले भन्नुभयो । अहिले खम्बा र तार खरीदको काम भइरहेको छ ।

यस्तै अपि हिमाल गाउँपालिका– ३ कटेलीगाडमा १० किलोवाट क्षमताको आयोजना निर्माण थालिएको छ । सो आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु १९ लाख, गाउँपालिकाले रु पाँच लाख तथा अन्य रकम प्रदेश सांसद विकास कोषबाट खर्च गरिने विद्युत् उत्पादन समितिका अधयक्ष मदन कार्कीले बताउनुभयो । सो आयोजना निर्माण गर्न रु ५७ लाख खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी अपि हिमाल गाउँपालिका–६ मज्जेखोलामा एक सय किलोवाट विजुली निकाल्न बोलपत्र आह्वान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष धनसिंह धामीले बताउनुभयो । “गाउँपालिकाले रु एक करोड ७२ लाख सहयोग गर्ने आश्वासन दिएको छ,” उहाँले भन्नुभयो ।

चमेलिया नदीबाट ८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको क्षत्तिगाड जलविद्युत् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ । निजी क्षेत्रबाटै निर्माण गर्ने गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष मन्याल बताउनुहुन्छ । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । अपि हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै क्षत्तिगाड, मकरीगाड, छुमछुम गाड, मज्जेगाडलगायत खोलाबाट विद्युत् उत्पादन गर्न सकिने अत्याधिक सम्भावना छ ।

The post अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2FxYQtD

No comments:

Post a Comment

Pages