यसरी सम्भव भयो राजपा–समाजवादीबीचको एकीकरण (अन्तरकथाको फेहरिस्त) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 23, 2020

यसरी सम्भव भयो राजपा–समाजवादीबीचको एकीकरण (अन्तरकथाको फेहरिस्त)


झण्डै ११ वर्ष लामो प्रयासपछि दुई राजनीतिक धारबीच एकीकरण भएर जनता समाजवादी पार्टी, नेपाल गठन भएको छ । प्राविधिक रुपमा अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भए पनि यी दुवै दल पछिल्ला खण्डमा आ–आफ्ना राजनीतिक धारमा विभिन्न दलसँग एकीकृत हुँदै यहाँसम्म आइपुगेका हुन् । समाजवादी पार्टीको एउटा मुख्य राजनीतिक भँगालो तत्कालीन मधेसी जनअधिकार फोरम थियो । त्यस्तै राजपा नेपाल बन्नु अघि मधेसमा सक्रिय विभिन्न ६ राजनीतिक दल आ–आफ्नो राजनीतिक अस्तित्वमा थिए । यी दुई फरक धारबीच ११ वर्ष अघिदेखि एकीकरणका लागि पहल हुँदै आएको थियो ।

तर एउटा वैचारिक धारको नेतृत्व गर्ने तत्कालीन मधेशी जनअधिकार फोरम कालान्तरमा नेपाल संघीय समाजवादी फोरम हुँदै समाजवादी पार्टी बन्यो । अर्को वैचारिक धारमा रहेका सद्भावना पार्टीका विभिन्न घटक, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै राष्ट्रिय जनता पार्टी बन्यो । आ–आफ्ना वैचारिक धारमा एकीकृत हुँदै राजनीतिक प्रभाव बढाए पनि दुई राजनीतिक धारबीचको एकता प्रक्रियाले सार्थकता पाउन ११ वर्ष कुर्नु प-यो ।
यो ११ वर्षमा एकताका लागि कयौँ पहल र चर्चा भए पनि कुनै न कुनै बहानामा अन्तिममा आएर भाँडिन्थ्यो । तत्कालीन मधेशी जनअधिकार फोरम, राजपा नेपालमा रहेका तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच २०६६ सालदेखि नै एकीकरणका लागि कुरा चलेको थियो ।

जुनबेलादेखि यी दलहरुको बीचमा वार्ता शुरु भएको हो, त्यो बेला ती सबै दल छुट्टाछुट्टै संगठित थिए । साविकको समाजवादी पार्टीको मुख्य हाँगा त्यतिबेला मधेशी जनअधिकार फोरम नेपाल थियो । र, साविकको राजपा नेपालमा समाहित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टी पनि त्यतिबेला अलग–अलग थिए ।

फोरम, तमलोपा र सद्भावनाको कुरा 
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीबीच एकीकरणका लागि वार्ता र संवाद शुरु भएको थियो । यी दुई दलको बीचमा पटक–पटक छलफल भयो । सहमतिका आधार तयार भइसके पनि तत्कालीन तमलोपासँग पनि एकीकरण गर्ने भनेर तीनवटै दलको बीचमा वार्ता प्रारम्भ भएको थियो ।

त्यतिबेला पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, राजनीतिक दस्तावेजमा समेत कुरा मिलिसकेको थियो । तर पार्टीको नेतृत्व कसले गर्ने विषयमा कुरा नमिल्दा एकीकरणमा पूर्णविराम लागेको थियो ।

त्यतिबेला तत्कालीन फोरमबाट उपेन्द्र यादवले एकीकृत पार्टीको नेतृत्व आफैले गर्ने दावी गरिरहेका थिए भने उताबाट महन्थ ठाकुरलाई अध्यक्ष बनाउनुपर्ने दावी भइरहेको थियो । महन्थ ठाकुरलाई वरिष्ठ नेता वा अभिभावक रुपमा स्वीकार गर्ने तर अध्यक्षमा स्वीकार नगर्ने उपेन्द्रको अडान थियो । यस्तै खिचातानीले त्यतिबेला एकीकरण सम्भव भएको थिएन ।

किन मिलेन कुरा ?
हुन त त्यतिबेला पनि तत्कालीन सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र तत्कालीन तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी एकीकरणप्रति सकारात्मक थिएनन् । कारण थियो, त्रिपाठी राजेन्द्र महतोलाई नेता स्वीकार गर्ने पक्षमा थिएनन् भने उता लक्ष्मणलाल कर्णले पनि आफ्नो पद सुरक्षित नदेखेका कारण एकीकरण प्रति सकारात्मक थिएनन् ।

उनीहरु सकारात्मक नभए पनि नेतृत्वमा कुरा मिलेको भए त्रिपाठी र कर्णलाई साइड लगाएर भए पनि एकीकरण हुने अवस्था थियो । तर, नेतृत्वमै कुरा नमिलेको कारण एकीकरण हुन सकेको थिएन ।

अशोक र उपेन्द्रको मिलन
तर एकीकरणका लागि प्रयासमा पूर्ण विराम लागेको थिएन । नेतृत्व तहबाट नभए पनि दोस्रो, तेस्रो तहका नेताहरु एकीकरणका लागि नियमित छलफलमै थिए । तर जहिले पनि नेतृत्वकै विषयमा आएर विवाद हुन्थ्यो । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले तत्कालीन सदभावना पार्टी र तमलोपासँग एकीकरणको कुरा जारी राखेकै बेला एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग २०७२ जेठ ३२ गते एकीकरण गरेको थियो ।
मधेशी जनअधिकार फोरम नेपाल एकीकरणपछि संघीय समाजवादी फोरम नेपाल बन्यो । यो एकीकरण त्यतिबेला भयो जतिबेला तत्कालीन तमलोपा र सद्भावना पार्टीसँग एकीकरणको कुरा जारी नै थियो ।

राजपा नेपाल गठन
एकीकरणका लागि आपसमा संवाद र वार्ता जारी नै थियो । सँगै मिलेर दुवै दलले आन्दोलन पनि गरेका थिए । तर एकता सम्भव भएको थिएन ।

तत्कालीन फोरम नेपाल, तमलोपा र सद्भावनाबीच एकीकरण हुन नसके पनि तेस्रो मधेश आन्दोलन सकिएसँगै २०७४ वैशाख ७ गते तमलोपा, सद्भावना, रामसपा, फोरम गणतान्त्रिक, संघीय सद्भावना, तमसपा मिलेर राजपा नेपाल बन्यो । सो एकीकरणमा ती दलका नेताहरुले उपेन्द्र यादवलाई पनि सहभागी हुन आग्रह गरेका थिए, तर उपेन्द्र यादवले आफू पछि सहभागी हुने भनेर पछि हटेका थिए ।
राजपा नेपाल बनेपछि समाजवादी पार्टीसँग एकीकरण गर्ने भनि पटक पटक वार्ता र छलफल भयो । तर एकीकरण नहुनुमा एक अर्कालाई दोषी देखाउँदै दुवै दल पन्छिदै रहे । कहिले राजपाले समाजवादीलाई दोषी देखायो त कहिले समाजवादीले राजपा नेपाललाई दोषी देखायो ।

बाबुराम र उपेन्द्रको मिलन

राजपा र समाजवादी बीच एकीकरणको कुरा चलिरहँदा फोरम नेपालले २०७६ वैशाख २३ गते नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी पार्टी बनाएको थियो । नयाँ शक्तिसँग एकीकरण हुने बेला फोरम नेपालले राजपा नेपाललाई बोलाएर एकीकरणमा सहभागी हुन आग्रह गरेको थियो ।

वैशाख २० गते तत्कालीन फोरम नेपाल र नयाँ शक्ति नेपालले राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीलाई बोलाएर छलफल गर्नु औपचारिकता मात्र थियो । नयाँ शक्ति नेपाल र फोरम नेपालबीच एकीकरणको अन्तिम समय अर्थात् अन्तिम बिन्दुमा पुगेका बेला ‘राजपा नेपाललाई एकपटक सोधिहालौँ न’ भनेर बोलाएर सोधेकोमात्र थियो ।

उपेन्द्र यादव सिधा मनले राजपा नेपाललाई एकीकरणमा ल्याउने पक्षमा थिएनन्, त्यो औपचारिकताका लागि मात्र सोधिएको थियो । त्यसको जवाफमा राजपा नेपालका नेताहरुले ‘केही दिन पर्खौँ छलफल गरौँ’ भनेपछि उपेन्द्र यादवले हतार हतारमा नयाँ शक्तिसँग एकीकरण गरेका थिए ।

समाजवादी र राजपाको वार्ता
एकीकरण गरेको पहिलो बैठकबाट समाजवादी पार्टीले वार्ता समिति गठन गरी राजपा नेपालसँग एकीकरणका लागि वार्ता शुरु गरेको थियो । दुवै दलले वार्ताका लागि चिठी पनि अदान प्रदान गरेका थिए तर, त्यो वार्ता समितिले एक दिनपनि औपचारिक वार्ता गरेको थिएन । जहिले पनि शीर्ष तहमै वार्ता हुन्थ्यो ।
राजपा नेपालको तर्फबाट गठन भएको वार्ता समितिको संयोजक रहेका राजेन्द्र महतो एक्लैले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग वार्ता गर्थे । वार्ता हुँदा विभिन्न कुराहरु बाहिर आएको थियो । एकीकरणको आज घोषणा हुन्छ, भोलि घोषणा हुन्छ भनि चर्चा हुन्थ्यो तर वार्ता जहिले पनि वार्तामै सीमित रह्यो, सकारात्मक नतिजा आउन सकेन ।

राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकीकरणका लागि वार्ता गरेको तर पार्टीलाई त्यसबारे जानकारी नदिएको भनेर राजपा नेपालमा बारम्बार विवाद हुन्थ्यो । अनिल झा, राजकिशोर यादवलगायतका नेताहरु वार्ताप्रति त्यति सकारात्मक थिएनन् ।

राजपाले नेपालले समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन दवाव दिइरहेको थियो । सरकारबाट बाहिरिए मात्र एकीकरण हुने अडानमा राजपा नेपाल थियो तर त्यतिबेला समाजवादी पार्टीले सरकारलाई एकताको बाधक नबाउन पटक पटक आग्रह गथ्र्यो । एकीकरण भइसकेपछि मात्र सरकारमा रहने वा नरहने भन्नेबारे टुंगो लगाउने समाजवादी पार्टीको तर्क थियो । यहाँसम्म कि समाजवादी पार्टीका नेताहरुले आफूहरु सरकारबाट बाहिरिएपछि राजपा नेपाल सरकारमा जान सक्छ भन्नेमा सशंकित थिए । तर राजपा नेपाल, खासगरी राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकता हुन नसक्ने अडान राखिरहे ।
संयोग नै भन्नुपर्छ, सरकारसँग कुरा नमिलेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिन बाध्य भयो । त्यसपछि राजपा नेपालका नेता राजेन्द्र महतोले एकता प्रक्रियालाई महत्व दिएनन् । आफूहरुले भनेको बेला सरकारबाट नबाहिरिएको, प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती निकालिदिएपछि पार्टी एकताका लागि समाजवादी पार्टीले चासो देखाएको भन्दै महतोले एकीकरणको पहलमा चासो देखाउन छाडेका थिए ।

राजेन्द्र महतो पछाडि हटेपछि सोही पार्टीका महेन्द्र राय यादव एकीकरणका लागि उपेन्द्र यादवसँग निरन्तर सम्पर्क र छलफलमा रहे । त्यो कुरा राजपा नेपालका नेता राजेन्द्र महतोसहित राजकिशोर यादव, अनिलकुमार झा, शरतसिंह भण्डारी, महन्थ ठाकुरलाई मन परेको थिएन । तर महेन्द्र राय यादवले आफ्नो प्रयास कहिल्यै छाडेनन् । यदि राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण नभएको भए महेन्द्र राय यादव पार्टी विभाजन गरेर भए पनि समाजवादी पार्टीसँग एकीकरण गर्ने पक्षमा थिए ।

यसरी भयो सम्भव
संयोग नै मान्नुपर्छ, सरकारले राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेसँगै एकाएक एकताको माहोल बनेको हो । यसअघि पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन जुटाउनु पर्ने प्रावधान भए पनि अध्यादेशमार्फत संशोधित व्यवस्थामा संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत समर्थन भए पुग्ने प्रावधान राखियो ।

त्यसले गर्दा राजपा नेपाल र समाजवादी पार्टी दुवैमा हलचल ल्यायो । कुनै पार्टीमा को पहिला फुट्ने भन्नेजस्तो अवस्था सिर्जना भयो । समाजवादी पार्टीमा रेणु यादवको नेतृत्वमा छुट्टै पार्टी बनाउने तयारी भइरहेको थियो भने उता राजकिशो यादव र अनिलकुमार झा पनि राजपा नेपालबाट अलग हुने मनस्थिति बनाइरहेका थिए ।

यसबीचमा राजपा नेपाल र समाजवादी पार्टीले वैशाख १० गते मध्यरात हतार हतार एकीकरणको घोषणा गरे । उनीहरु ११ गते निर्वाचन आयोगमा पुगेर एकीकरणसम्बन्धी निर्णयको जानकारी गराउँदै निवेदन पनि दर्ता गराए । संघीय संसद सचिवालयलाई पनि पार्टी एकताबारे जानकारी गराइसकेका छन् ।

दुई पार्टीमा एकीकरण भएपनि अहिलेसम्म पार्टीको नाम, झण्डा र चुनाव चिन्हबाहेक अरु कुनै विषयमा कुरा मिलेको छैन । पार्टीको नेतृत्व कसले गर्ने, कुन मोडेलमा पार्टी सञ्चालन हुने, पार्टीको आधिकारिक राजनीतिक लाइन के हो लगायतका कुनै विषयमा कुरा मिलेको छैन ।

समाजवादी कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा रहेको छ भने राजपा नेपाल प्रधानमन्त्रीय प्रणालीकै पक्षमा छ । यो विषयमा पनि दुई दलको बीचमा सहमति भएको छैन । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले यो बीचमा दुई दलबीच यी विषयहरुमा कुराकानी र छलफल गरेर टुंगो लगाउने र लकडाउन सकेपछि निर्वाचन आयोगमा दर्ताका लागि सबै कागजात पेस गर्ने बताए ।

अहिले एकीकृत पार्टीको पहिलो वरियताक्रममा महन्थ ठाकुर र दोस्रो डा.बाबुराम भट्टराई राख्ने सहमति भएको छ भने अन्य अरु पदहरुमा पनि सबै नेताहरुलाई सम्मानजनक तरिकाले समायोजन गर्ने सहमति भएको राजपा नेपालका प्रवक्ता केशव झाले बताए ।

-रातोपाटीबाट साभार

The post यसरी सम्भव भयो राजपा–समाजवादीबीचको एकीकरण (अन्तरकथाको फेहरिस्त) appeared first on .



from https://ift.tt/2KoPujs

No comments:

Post a Comment

Pages