आज जापानी सम्राट्को गद्दी आरोहण समारोह - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 21, 2019

आज जापानी सम्राट्को गद्दी आरोहण समारोह

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह आज (५ कात्तिक) मङ्गलबार इम्पेरियल प्यालेस (टोकियो)मा हुँदैछ । नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियोमा भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोकियो पुगिसक्नुभएको छ ।
स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म हुने समारोहमा सम्राट् नोरुहितो सेदेन– मात्सु –नो –मा (स्टेट रुम)मा पुग्नुहुने र उहाँको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर पुग्ने छन् । त्यसपछि राजा नोरुहितो सिंहासनमा बस्नुहुनेछ र राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन् । बताइएअनुसार साम्राज्ञी मासाको पनि स्टेट रुममा आउनुहुनेछ र आफ्नो आसनमा बस्नुहुनेछ । समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने गद्दी आरोहण अन्तरराष्ट्रिय मिडिया सेन्टरमा बाँडिएको कार्यक्रम पुस्तिकालाई उद्धृत गर्दै राससले जनाएको छ ।
समारोहमा सम्राट् नोरुहितोले सम्बोधन गर्ने र प्रधानमन्त्री सिन्जो आबेले बधाई मन्तव्य दिने पनि उक्त पुस्तिकामा उल्लेख छ । साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ ।
सन् १९६० फेब्रुअरी २३ मा जन्मनुभएका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन हुनुभएपछि रिवा युग शुरु भएको मानिएको छ । आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उहाँ जापानका १२६ औँ सम्राट् हुनुभएको हो । सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने उहाँ हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्नुहुन्छ । उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गर्नुभएको थियो ।
पूर्वी एशियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ । प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् । तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य ६ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ ।
जापानी भिक्षु एकाइ कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी मानिनुहुन्छ । उहाँ सन् १८९९ मा नेपालको पोखरा, मुस्ताङ हुँदै तिब्बत अध्ययनका लागि जानुभएको थियो । नेपाल जापान दौत्य सम्बन्ध सन् १९५६ मा भई नेपालमा सन् १९६८ मा जापानी राजदूतावास र सन् १९७८ मा जापानी सहयोग नियोग जाइका कार्यालय स्थापना भएको हो । नेपाल जापान संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक समूह र एशियाली विकास बैंकका सदस्य हुन् । नेपालको प्रमुख दातृ राष्ट्र जापानले नेपाललाई सन् १९६९ देखि आर्थिक सामाजिक गतिविधिमा सहयोग गर्दै आएको छ । नेपालका प्रायः सबै आर्थिक क्षेत्रमा जापानी सहयोग चालु रहेको छ । सन् १९६९ र ७० मा क्रमश ऋण र अनुदान दिन थालेको जापानले १९७० देखि जापान ओभरसिज कोअपरेशन भोलुन्टियर्स पठाई प्राविधिक सहयोग दिन थालेको हो ।

The post आज जापानी सम्राट्को गद्दी आरोहण समारोह appeared first on .



from https://ift.tt/2Myg5wq

No comments:

Post a Comment

Pages