सोलुखुम्बु काठमाण्डौ सडक-हवाई सञ्चालन टुट्यो । तस्बिर सहित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 24, 2019

सोलुखुम्बु काठमाण्डौ सडक-हवाई सञ्चालन टुट्यो । तस्बिर सहित

सोलुखुम्बु / हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ । आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ । आज सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।


पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनाँै जीप तथा मालवाहक ट्रकसमेत पत्तालेमा रोकिएका छन् । सवारी सञ्चालन हुन नसक्दा यात्रु भने अलपत्र परेका छन् । “केही यात्रु भने हिँडेरै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका छन्”, सवारी चालक कृष्ण कार्कीले भन्नुभयो, “अहिले पनि वर्षात्सँगै हिउँ परिरहेको जसले गर्दा सवारी चलाउन सकिने अवस्था नै छैन ।” कार्कीका अनुसार मौसममा राम्रो सुधार नआएसम्म सवारी आवगमनमा समस्या हुनेछ ।

सोलुखुम्बुबाट काठमाडाँै हिँडेका अधिकांश यात्रु पत्तालेमा रहेका छन् । सडक अवरुद्ध भएसँगै बालबालिका तथा वृद्धवृद्धा यात्रु भने बढी प्रभावित भएको स्थानीय भाइचुङ शेर्पाले बताउनुभयो । “अहिले हिउँ करीब एक फिट बढी जम्मा भएको छ”, शेर्पाले भन्नुभयो, “हिउँपर्नेक्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवायुवती भने हिउँसँग रमाइरहेका छन् ।”
कुनै पनि उडान भएन

जिल्लामा सञ्चालित दुई वटा विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मौसम प्रतिकूलताका कारण आज कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज फाप्लु विमानस्थलमा तारा एयरको एउटा उडान तालिका भए पनि उडान हुन सकेन । यस्तै फाप्लु स्याङ्बोचे कार्गो सेवासमेत बन्द भएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार आज २० वटा उडान तालिका भए पनि कुनै पनि उडान हुन सकेन । नागरिक उड्डयन प्राधिकरण लुक्लाले दिएको जानकारीअनुसार तारा एयरको १०, सीता र समिटको पाँच÷पाँच वटा उडान तालिका थियो तर ती कुनै पनि उडान भएन । यस्तै हेलिकप्टरलेसमेत उडान भर्न नसकेको बताइएको छ ।

माथिल्लो क्षेत्रको पूरै भू–भाग अहिले कुहिरोले ढाकेको छ । हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको खुम्बु पासङल्हामु गाउँकार्यपालिकाका सदस्य उमा बराइलीले बताउनुभयो ।

“खुम्बुका अधिकांश मानिस जाडो छल्न बाहिर गएको भए पनि यहाँ बस्ने मानिसलाई निक्कै गाह्रो भएको छ”, बराइलीले भन्नुभयो, “केटाकेटी बुढाबूढी र पशु चौपाय बढी प्रभावित बनेको छ ।”सोलुखुम्बुको पत्ताले, पिकेडाँडा, तामाखानी, रातनाङ्गी, स्यालगुडी, डाँडाखर्क जुनबेंसीसहित माथिल्लो क्षेत्र खुम्बुमा हिउँले ढाकेको छ ।

The post सोलुखुम्बु काठमाण्डौ सडक-हवाई सञ्चालन टुट्यो । तस्बिर सहित appeared first on .



from http://bit.ly/2FKuEL5

No comments:

Post a Comment

Pages