पशु आत्मशान्तिका लागि ‘मानिबुम’ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 15, 2018

पशु आत्मशान्तिका लागि ‘मानिबुम’

दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले बस्तीका गुम्बाहरूमा चारदिने पूजा गर्छन् । हेलम्बुमा बलि पूजा निषेध गरिएको मात्र होइन सामान्य अवस्थामा पनि पशुवध गर्न पनि दिइँदैन । हेलम्बु जाने पर्यटकका लागि होटलहरूमा पनि मासु पाक्दैन । पशुबलि हिंसा भएकाले उनीहरू पूजा र जप गरी दसैं मनाउँछन् । मानिबुम भन्नाले १ लाखपटक जप गर्नु हो ।

हिन्दुको विष्णु अवतारमा मानिने विष्णुस्वरूप बुद्ध र बौद्धका आर्य अवलोकेश्वरी देवको ६ लोकमा रहेको प्राणीउपदेशअनुसार हेलम्बुका ह्योल्मोका बासिन्दाले पशुबलिलाई पाप मान्छन् । यहाँ बलिप्रथा निषेध मात्रै छैन, मारिने पशुबलिका लागि लामा गुरुले सुरुवाती चरणमा ‘नाहरा’ को तीनदिने ‘वाङ्’ पूजा सकेर अष्टमीका दिन ‘मानिबुम’ गर्छन् । ‘मानिबुम सकेपछि न्युङने या ३ दिने व्रत दुईपटक बस्छौं,’ कालाङदोङ् लामाटोलका दावादोर्जे डाङसोङ ह्योल्मोले भने । ३ वर्षदेखि ज्याङ्छुप सेम्पा गुन्पाको व्यवस्थापन गरिरहेका उनी ‘नाहरा’ र ‘मानिबुम’ ह्योल्मो संस्कृतिको विशिष्ट पूजा रहेको बताउँछन् ।

‘हत्या गर्नु पाप हो, यसलाई हाम्रो सभ्यताले स्विकार्दैन,’ मानिबुम पूजा तयारीमा व्यस्त उनले भने । हेलम्बु गाउँपालिकाभरका झन्डै ६० गुम्बामा यस्तो शान्ति पूजा गरिन्छ । ‘नहरा’ भनेको नर्क र ‘मानिबुम’ भन्नाले १ लाख जप भन्ने अर्थ लाग्छ । चिसो सुरु हुने भएकाले दशमीमा दृश्यअदृश्य जीवहरूको अन्त्य हुने उनीहरूको विश्वास छ । ‘गर्मीमा जन्मने र यो जाडो समयमा मर्ने जीवको वैज्ञानिकतमा टेकेर पूजा थालिएको हो,’ काजेघ्याङका दोर्जे लोभेन छाङ लामाले भने ।

ह्योल्मो समुदायका अनुसार खेती किसानीको फसल निकाल्ने र जीवको मृत्यु हुने समय दसैंमा पर्छ । ‘शुक्लपक्ष गुरु रेन्पोछेको जन्मदिन भएकाले यी नवमी, दशमी एकादशीलाई हौसलापूर्वक मनाउने परम्परा छ,’ ३० वर्षदेखि मानिबुम गर्दै आएका उनले भने । हयोल्मो समाज सेवा केन्द्रमा आबद्ध उनले हेलम्बु क्षेत्रका पवित्र मानिएका ७ गुम्बा गुठीअन्तर्गत रहेको बताए । गुठीको तिरो नतिरे पनि त्यसबापत पूजा गरी कट्टा गर्न सकिने उनले बताए ।

प्रत्येक गुम्बाका ‘चिबा’ अर्थात् आयोजक समूहले ‘नाहरा’, ‘मानिबुम’ का साथै ‘न्युङ्ने’ व्रत राख्छन् । गाउँपालिकाभरका ह्योल्मो समूहभित्रको घरधुरीले बर्सेनि पालैपालो यस्तो पूजा गर्छन् । हेलम्बुकै प्राचीन मानिएको चिरी गुम्बामा विशेष पूजा गरिन्छ । गुम्बा सञ्चालनका लािग टोलमा राखिएका एक जना ‘गोबा’ या मन्त्रीले नियम बनाउने गरेको लामा सांगेको भनाइ छ । तार्केघ्याङको डुपुन्डोङ गुम्बाका प्रमुख रिन्पोछे नोवाङतेन्जेन् लामा ४० वर्षदेखि साधना गरिरहेका मानिन्छन् । मानिसलाई जस्तै पशुलाई पनि पीडा हुने भएकाले पशु बलि हिंसा भएको उनको दाबी छ ।

‘हिन्दु र ह्योल्मो बौद्ध धर्मको मूल उद्देश्य अहिंसा परोधर्म नै हो,’ उनले भने । सरकारी ढिलासुस्तीले गुम्बा पुनर्निर्माण नहुँदा भत्केकैमा पूजा गर्नुपर्ने बाध्यता रहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पा बताउँछन् । ‘यो परम्परा निरन्तरता दिन्छौं,’ उनले भने । हेलम्बुमा अधिकांश शेर्पा र लामा समुदायको बसोबास छ । उनीहरूले आफूहरूलाई ह्योल्मो जाति बताउँछन् ।
-Kantipur Dailly



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2J0ThlK

No comments:

Post a Comment

Pages